एनएफपीजे कास्कीद्वारा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण


पोखरा, २४ कात्तिक २०७४ शुक्रबार
राष्ट्रिय फोटो पत्रकार समूह(एनएफपीजे), कास्कीको आयोजनामा पोखरामा व्यावसायिक फोटो पत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ । दुईदिने उक्त प्रशिक्षणमा कास्कीसहित छिमेकी जिल्लाका विभिन्न संचारमाध्यममा कार्यरत ४५ जना फोटोपत्रकार तथा पत्रकारहरुको सहभागिता रह्यो ।
प्रशिक्षणको उद्घाटन् गर्नुहुदै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ज्ञान, सीप र प्रवृत्ति विकासमा तालिमको महत्व हुने भन्दै फोटो पत्रकारिताको व्यावसायिकतामा जोड दिनुभयो । उहाले नागरिक पत्रकारिताको विकासको सन्दर्भ जोड्दै संख्यात्मकभन्दा गुणात्मक ख्याल गर्नु अहिलेको चुनौती भएको बताउनुभयो ।
उद्घाटन् समारोहलाई सम्बोधन गर्नुहुदैं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)का केन्द्रीय अध्यक्ष ध्रुव आलेले फोटो पत्रकारितामा सिक्ने र सिकाउनेबीच तालमेल मिल्न नसकेको उल्लेख गर्नुहुदै समूहले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा व्यावसायिक फोटोपत्रकारिता सुरु गरेको भन्नुभयो । त्यस्तै प्रकृतिको तालिम गत भदौमा भक्तपुरमा भएको सम्पन्न भएको बताउनुहुदै उहाले स्थानीय स्तरमा घट्ने घटनाक्रम वा विषयवस्तुको तस्वीर स्थानीयबाट आएमा प्रभावकारी हुने बताउनुभयो ।

फोटो: सुरज श्रेष्ठ/एनएफपीजे
फोटो पत्रकारितालाई व्यावसायिक बनाउँदै आगामी दिनमा समूहलाई महासंघको अवधारणामा लैजाने कुरापनि उहाले जानकारी दिनुभयो । एनएफपीजेका हाल प्रदेश नंबर १ देखि ७ सम्म ३२वटा जिल्ला शाखा स्थापना भैसकेको उहाले जानकारी गराउनुभयो ।
एनएफपिजे कास्की शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णमणि बरालले दोस्रो जनआन्दोलनपछि पेसागत हित र गुणस्तरसँगै व्यावसायिकता खोजीको लागि पोखरामा फोटोपत्रकार संगठित भएको जानकारी दिनुभयो । कास्की शाखा एनएफपिजेको पहिलो जिल्ला शाखा हो ।

फोटो: सुरज श्रेष्ठ/एनएफपीजे  फोटो: सुरज श्रेष्ठ/एनएफपीजे
उक्त अवसरमा कास्की शाखाका सल्लाहकार एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित, शाखाका पूर्व केन्द्रीय सदस्य एवं सल्लाहकार राम गुरुङ, शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णमणि बराललाई प्रमुख अतिथिले सम्मानपत्र प्रदान गर्नुभयोे ।
फोटोपत्रकार रञ्जितले एनएफपिजे केन्द्रले गत बैसाखमा काठमाडौंमा आयोजना गरेको अवार्डमा पुरस्कार स्वरुप आफूले प्राप्त गरेको रकम रु २५ हजार र रु ५ हजार थप गरी २० हजार रुपैयाँ एनएफपिजे कास्की शाखालाई हस्तान्तरण गर्नुभएको बारे जानकारी गराईएको थियो भने सोहि कारण रञ्जितलाई सम्मान गरिएको पनि कार्यक्रममा जानकारी गराईयो ।
एनएफपिजे कास्की शाखाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै फोटोको भाषा विश्वभर एउटै हुने धारणा व्यक्त गर्नुभयो । उहाले फोटो बिनाको अखबार र नून बिनाको तरकारी समान हुन् भन्दै व्यावसायिकता र सक्षमताको लागि प्रशिक्षण आयोजना गरिएको जानकारी दिनुभयो ।

फोटो: सुरज श्रेष्ठ/एनएफपीजे
दुईदिने प्रशिक्षणको प्रमुख प्रशिक्षकका रुपमा एनएफपिजे अध्यक्ष ध्रुव आले हुनुहुन्छ । उहाले फोटोग्राफी र फोटोपत्रकारिताबारे प्रशिक्षण दिनुभयो भने र कान्तिपुर मिडिया ग्रुपका पोखरा व्यूरो प्रमुख भीम घिमिरे र कास्की शाखाका पूर्व अध्यक्ष एवं सल्लाहकार कृष्णमणि बरालले फोटोपत्रकारिता बारे आफ्नो अनुभव सुनाउनुभएको थियो ।
समूहका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । उद्घाटन समारोहको सञ्चालन समूहका सचिव दुर्गाप्रसाद पौडेलले गर्नुभएको थियो । एनएफपिजे र पत्रकार महासंघ कास्कीको सहकार्यमा भएको प्रशिक्षणमा पोखरा लेखनाथ महानगरपालिकाले समेत सहयोग गरेको छ ।